लोड हुँदै...मौसम लोड हुँदै
Aago Sanchar Logo
Seven Tech Solutions Services
अर्थ१६ पौष, २०८२

हिल्टन होटलको बीमामा त्रुटि, चार संस्थालाई कारबाही गर्न प्राधिकरणको पत्र

By आगो संवाददाता

हिल्टन होटलको बीमामा त्रुटि, चार संस्थालाई कारबाही गर्न प्राधिकरणको पत्र

भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा पाँच तारे होटल हिल्टनमा आगजनी र तोडफोड भयो।

करिब आठ अर्ब लगानी रहेको होटलमा बैंक तथा वित्तीय संस्थाहरूको पाँच अर्ब दुई करोड रूपैयाँ कर्जा लगानी छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा नबिल बैंक, एभरेष्ट बैंक, नबिल, प्रभु लगायतका बैंकहरूको सहवित्तीय कर्जा लगानी छ।

आगजनी र तोडफोडेसँगै परेको दाबीको छानबिनको क्रममा नेपाल बीमा प्राधिकरणले बीमा प्रक्रियामा संलग्न सबै कम्पनीहरूलाई कारबाही गर्नुपर्ने सिफारिस गरेको हो।

‘ओरियण्टल इन्स्योरेन्स, पुनर्बीमा ब्रोकर कम्पनी एलियण्ट इन्स्योरेन्स ब्रोकर, नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स सबैमाथि थप अनुसन्धान हुनुपर्ने र कारबाही गर्नपर्ने सुझावसहित अर्थमन्त्रालय हुँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई प्रतिवेदन पठाएका छौं,' प्रतिवेदन तयार गर्ने टोलीमा रहेका प्राधिकरण स्रोतले बताए।

वैदेशिक लगानी समेत रहेको कम्पनी ओरियण्टल इन्स्योरेन्स नेपालले हिल्टन होटलको बीमा गरेको हो।

कम्पनीले बीमामार्फत् हिल्टन होटलको सम्भावित जोखिममध्ये केही दायित्व आफूले लिने र बाँकी पुनर्बीमा कम्पनीमा सार्छन्।

कम्पनीले यस्तो जोखिमको दायित्व एजेन्ट एलियण्ट इन्स्योरेन्स ब्रोकरमार्फत पुनर्बीमा गराएको प्राधिकरणको अध्ययनले देखाएको हो।

तर, समस्या यहाँ देखिएको हो। हाल नेपालमा दुई पुनर्बीमा कम्पनी छन्, नेपाल पुनर्बीमा र हिमालयन रि इन्स्योरेन्स।

बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीलाई ‘हुलदंगा तथा आतंकवाद जोखिम समूह बीमा’ अन्तर्गत पुनर्बीमा गर्ने गरेर व्यवसाय दिएको छ।

एलियण्ट इन्स्योरेन्स ब्रोकरले भने नेपाल पुनर्बीमा कम्पनीमा नभई अर्को कम्पनी हिमालयन रि इन्स्योरेन्समा गराएको प्राधिकरणलाई बताएको छ।

'पटक-पटक नेपाल पुनर्बीमा कम्पनीलाई पत्राचर गरेर होटलको पुनर्बीमा गराउने प्रयास सफल नभएपछि आफूले हिमालयन रिमा गराएको दाबी ब्रोकर कम्पनीको छ,' प्राधिकरण स्रोतले भने।

तर, नेपाल पुनर्बीमा कम्पनी आफूले बीमा नगर्ने भए 'नो अब्जेक्सन' दिएर मात्रै हिमालयन रिले बीमा गरेको हुनुपर्नेमा त्यस्तो नदेखिएको समेत प्राधिकरणका ती अधिकारी बताउँछन्।

त्यसो त प्राधिकरणको अनुसन्धानको क्रममा हिमालयन रिले समेत आफूले यो पुनर्बीमा नगरेको र केही दिन मै यसको जवाफ ब्रोकर कम्पनीलाई पठाएको समेत उल्लेख गरेको थियो।

यसले गर्दा कम्पनीको बीमा दाबी भुक्तानी कसले गर्ने भनेर समस्या हुने देखिएपछि प्राधिकरणले थप अनुसन्धान सहित चारै पक्षलाई कारबाही गर्न भन्दै अर्थमन्त्रालय मार्फत् अख्तियारलाई पत्राचार गरेको हो।

प्राधिकरणसँगको कुराकानीमा ब्रोकर कम्पनी एलियण्टले आफ्नो कागजात समेत भदौको आन्दोलनको क्रममा नष्ट भएको बताउँदै आएको छ।

हिल्टन होटलको बीमा दाबी प्रक्रियामा त्रुटि देखिए पनि आवश्यकता परे बीमा कम्पनी ओरियन्टल इन्स्योरेन्स वा ब्रोकर कम्पनी एलियण्टबाटै भुक्तानी गराउन सक्ने सम्भावना हुने प्राधिकरणका ती अधिकारीको दाबी छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

Seven Tech Solutions Services

प्रतिक्रिया

सम्बन्धित खबर