बल्छी धुर्बे निर्देशित "गोबर गणेश" करोड क्लबमा
By आगो संवाददाता

काठमाडौं । बल्छी धुर्बेले निर्देशन गरेको नेपाली फिल्म ‘गोबर गणेश’ ले प्रदर्शनको १० दिनमै घरेलु बक्सअफिसमा उल्लेखनीय कमाइ गर्न सफल भएको छ। पछिल्लो शनिबारसम्म देशभरबाट फिल्मको कलेक्सन १ करोड १४ लाख ३५ हजार रुपैयाँ ग्रस पुगेको छ।
दोस्रो शनिबारसम्म फिल्मको कमाइ करोड नाघेपछि यसको औपचारिक तथ्यांक सिनेपाः बक्सअफिसले सोमबार सार्वजनिक गर्ने जनाएको छ। प्रारम्भिक दिनदेखि नै दर्शकको सकारात्मक प्रतिक्रिया पाएको फिल्मले निरन्तर दर्शक तान्न सफल भइरहेको छ।
निर्देशक बल्छी धुर्बेले दर्शक प्रतिक्रियाप्रति खुसी व्यक्त गर्दै भने, “दर्शकको प्रतिक्रिया उत्साहजनक छ। सबै उमेर समूहका दर्शकले फिल्मको कथावस्तु मन पराउनुभएको छ। टेलिभिजनपछि फिल्ममार्फत दर्शकले देखाउनुभएको माया र समर्थनप्रति हामी आभारी छौं।”
हास्यप्रधान कथामा आधारित ‘गोबर गणेश’ ले बक्सअफिसमा बलियो उपस्थिति जनाउँदै नेपाली फिल्म बजारमा सुखद संकेत दिएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?




प्रतिक्रिया