झापा–५ मा रास्वपा सम्पर्क कार्यालयमा तोडफोड
By आभाष रेग्मी

झापा–५ स्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ। गएराति भएको उक्त घटनामा कार्यालयका झ्यालका सिसा फुटाइएको, फर्निचरमा क्षति पुर्याइएको तथा पार्टीका ब्यानर र पोस्टर च्यातिएको स्थानीयले बताएका छन्।
घटनापछि बिहान कार्यालय पुगेका पार्टी कार्यकर्ताले तोडफोड देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। इलाका प्रहरी कार्यालयले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको जनाएको छ। हालसम्म तोडफोडमा संलग्न व्यक्ति वा समूहको पहिचान खुल्न सकेको छैन।
रास्वपाका स्थानीय नेताहरूले घटनाप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई राजनीतिक प्रतिशोधको परिणाम हुन सक्ने आशंका व्यक्त गरेका छन्। उनीहरूले लोकतान्त्रिक अभ्यासमा यस्ता हिंसात्मक गतिविधि अस्वीकार्य रहेको भन्दै दोषीलाई तत्काल पहिचान गरी कडा कारबाही गर्न माग गरेका छन्।
पार्टीका अनुसार आगामी दिनमा झापा–५ क्षेत्रमा संगठन विस्तार तथा जनसम्पर्क कार्यक्रमलाई तीव्र बनाउने तयारी भइरहेका बेला यस्तो घटना हुनु दुःखद भएको प्रतिक्रिया दिएका छन्। “विचार र एजेन्डाको प्रतिस्पर्धा हुनुपर्ने ठाउँमा तोडफोड र हिंसाले स्थान पाउनु लोकतन्त्रका लागि खतरा हो,” रास्वपाका एक स्थानीय नेताले बताए।
प्रहरीले घटनाको सीसीटीभी फुटेज संकलन गर्ने र सम्भावित संलग्नमाथि खोजी तीव्र पार्ने जनाएको छ। घटनापछि क्षेत्रमा सुरक्षाको व्यवस्था कडा पारिएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?













प्रतिक्रिया