वैदेशिक रोजगारी ठगी आरोपमा जुत्ताको माला लगाएर बजार घुमाउने पक्राउ
By आगो संवाददाता

वैदेशिक रोजगारी ठगी आरोपमा जुत्ताको माला लगाएर बजार घुमाउने पक्राउ
दाङ — वैदेशिक रोजगारीको नाममा रकम ठगी गरेको आरोपमा एक व्यक्तिलाई जुत्ताको माला लगाएर बजार घुमाएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ थर्पुडाँडा निवासी ३५ वर्षीय पर्साराम विक रहेका छन्। उनीमाथि तुलसीपुर–६ बरुवागाउँ निवासी ३६ वर्षीय शेरबहादुर वलीलाई सार्वजनिक रूपमा अपमानजनक व्यवहार गरेको आरोप लागेको छ।
प्रहरीका अनुसार बुधबार दिउँसो विकले वलीको केही भागमा कपाल खौरिएर जुत्ताको माला लगाएका थिए। साथै, घाँटीमा डोरी बाँधी लात्तीले हान्दै तुलसीपुर बजार क्षेत्रमा घुमाएको आरोप छ। वलीले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको दाबी गर्दै विकले यस्तो व्यवहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि प्रहरीले विकलाई सोही दिन तुलसीपुरबाट नियन्त्रणमा लिएको थियो। हाल उनलाई अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?















प्रतिक्रिया