तुलसीपुरमा बालुवा उद्योग अनियमित रूपमा सञ्चालन, कर छलि र मापदण्ड उल्लङ्घनको आरोप
By आगो संवाददाता

दाङ — तुलसीपुर उपमहानगरपालिका–१९ मा सञ्चालनमा रहेको एक बालुवा प्रशोधन उद्योगले अनुमति विपरीत क्रसरसमेत सञ्चालन गर्दै कर छलि गरेको पाइएको छ। सम्बन्धित निकायको छानबिन प्रतिवेदनले उद्योगको सञ्चालनमा गम्भीर अनियमितता देखाएको हो।
प्रतिवेदनअनुसार उक्त उद्योगले कम्पनी रजिस्ट्रारको कार्यालयबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको भए पनि आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा स्थायी लेखा नम्बर (PAN) लिएको देखिन्छ। साथै, घरेलु तथा साना उद्योग कार्यालय, दाङबाट बालुवा प्रशोधन गर्ने उद्देश्यले मात्र दर्ता प्रमाणपत्र लिएको उल्लेख छ।
तर अनुगमनका क्रममा उद्योगले अनुमति विपरीत क्रसर सञ्चालन गरी गिट्टी, बालुवा, ढुंगा लगायतका सामग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको पाइएको छ। दर्ता भएपश्चात हालसम्म कुनै निकायलाई कर बुझाएको प्रमाण नभेटिएको र दर्ता नवीकरणसमेत नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
त्यसैगरी, तुलसीपुर उपमहानगरपालिकामा आर्थिक वर्ष २०७९/८० का लागि व्यवसाय दर्ता शुल्क रु. १ लाख ५० हजार बुझाएको कागजात देखिए पनि अन्य कर सम्बन्धी दायित्व पूरा नगरेको देखिएको छ।
अनुगमन टोलीले उद्योगले सार्वजनिक स्थान—तुलसीपुर सडक खण्ड र टावर खोलामा उत्पादन गरिएको सामग्री तथा कच्चा पदार्थ खुला रूपमा थुपारेर राखेको समेत फेला पारेको छ। यसरी अनुमति बिना र मापदण्ड विपरीत उद्योग सञ्चालन भएको निष्कर्ष प्रतिवेदनले निकालेको छ।
यसैबीच, दाङ जिल्लामा सञ्चालनमा रहेका अन्य क्रसर उद्योगहरू पनि अवैध रूपमा सञ्चालन भइरहेको उजुरीपछि केन्द्रको निर्देशनमा छानबिन समिति गठन गरिएको थियो। प्रहरी नायब उपरीक्षक, इन्जिनियर तथा सब–इन्जिनियर सम्मिलित उक्त समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गरेको हो।
सम्बन्धित निकायले प्रतिवेदनका आधारमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको जनाएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?















प्रतिक्रिया