लोड हुँदै...मौसम लोड हुँदै
Aago Sanchar Logo
Seven Tech Solutions Services
राजनीति१५ माघ, २०८२

इतिहास बोकेको श्री पृथ्वी जनता मा.वि. आज किन ओझेलमा ?

By आगो संवाददाता

इतिहास बोकेको श्री पृथ्वी जनता मा.वि. आज किन ओझेलमा ?

दाङको श्रीगाउँमा अवस्थित श्री पृथ्वी जनता माध्यमिक विद्यालय (बी.बी. विद्यालय) वि.सं. २०२४ सालमा स्थापना भएको नेपालकै पुराना तथा ऐतिहासिक सरकारी विद्यालयहरूमध्ये एक हो। कुनै समय दाङ जिल्ला मात्र होइन, सम्पूर्ण मध्यपश्चिम क्षेत्रमै उत्कृष्ट सरकारी विद्यालयका रूपमा परिचित यो विद्यालयले २०–३० वर्षअघि देशका लागि सक्षम, दक्ष र जिम्मेवार जनशक्ति उत्पादन गरेको गौरवपूर्ण इतिहास बोकेको छ।
तर आज यही विद्यालयको अवस्था भने अत्यन्तै चिन्ताजनक र लज्जास्पद बनेको छ। राजनीतिक हस्तक्षेप, भ्रष्टाचार र संकुचित स्वार्थी सोचका कारण विद्यालय दिनप्रतिदिन कमजोर बन्दै गएको छ। शिक्षाको गुणस्तर खस्किँदै जाँदा विद्यार्थीहरूको आकर्षण घटेको छ र परिणामस्वरूप विद्यार्थी संख्या अत्यन्तै न्यून अवस्थामा पुगेको छ।
हाल विद्यालयलाई कृषि शिक्षामा रूपान्तरण गरिएको छ, जहाँ +2 तहका विद्यार्थीहरू अध्ययनरत छन्। तर अपेक्षित विद्यार्थी संख्या नपुग्दा यो कार्यक्रम पनि औपचारिकतामा सीमित देखिन्छ। त्यस्तै, त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त स्नातक (Bachelor) तह पनि सञ्चालनमा भए तापनि त्यहाँ भर्ना हुने विद्यार्थीहरूको संख्या न्यून नै रहेको छ। यसले विद्यालयको प्रतिष्ठा र पहिचानमा गम्भीर असर पुर्‍याएको छ।
पछिल्ला वर्षहरूमा विद्यालय सुधारका लागि ठोस र दीर्घकालीन योजना तथा गम्भीर पहल भएको देखिँदैन। विद्यालयका नेतृत्व तह, राजनीतिक व्यक्ति तथा सरोकारवाला निकायहरू सबै आ–आफ्नो स्वार्थमा केन्द्रित देखिन्छन्। न उनीहरूलाई विद्यार्थीको भविष्यप्रति चासो छ, न त विद्यालयको इतिहास, गरिमा र उत्तरदायित्वप्रति संवेदनशीलता। “आफू मात्रै सोच्ने, अरूको वास्ता नगर्ने” प्रवृत्ति विद्यालयभित्र हावी भएको स्पष्ट देखिन्छ।
अझ गम्भीर विषय के छ भने, दुई वर्षअघि यस विद्यालयमा शिक्षा नियमावली र सरकारी मापदण्डविपरीत दुई जना प्रधानाध्यापक नियुक्त गरिएको थियो। यस्तो निर्णयले विद्यालयको व्यवस्थापन झनै कमजोर बनाएको र समस्या समाधानभन्दा समस्या थपिएको स्थानीयहरूको गुनासो छ।
आज यो ऐतिहासिक विद्यालय शैक्षिक केन्द्रभन्दा बढी राजनीतिक खेलको अखडा जस्तै बन्न पुगेको छ। यसको पहिचान मेटिँदै गएको छ र भविष्य झनै अनिश्चित बन्दै गएको छ। दुःखद पक्ष के छ भने, विद्यालयका समस्याहरू उठाउने, आवाज बुलन्द गर्ने र सुधारका लागि नेतृत्वदायी भूमिका खेल्ने कोही देखिँदैन।
यदि यही लापरवाही, बेवास्ता र मौनता जारी रह्यो भने, श्री पृथ्वी जनता माध्यमिक विद्यालय इतिहासका पानामा सीमित “नाम मात्रको संस्था” बन्ने खतरा बढ्दै जानेछ।
त्यसैले सरकार, शिक्षा मन्त्रालय, स्थानीय तह, सरोकारवाला निकाय तथा सचेत नागरिकहरूलाई यस विषयमा गम्भीर ध्यान दिन हार्दिक अनुरोध गरिएको छ। अब पनि समयमै सुधार र परिवर्तन नगर्ने हो भने, यसको सम्पूर्ण जिम्मेवारी आज चुप लागेर बसेका सबैमाथि पर्नेछ।
अब राजनीति होइन, शिक्षा चाहिन्छ।
अब स्वार्थ होइन, जिम्मेवारी चाहिन्छ।
अब मौनता होइन, परिवर्तन चाहिन्छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

Seven Tech Solutions Services

प्रतिक्रिया

सम्बन्धित खबर