के दाङ फेरि तयार छ?
By आगो संवाददाता

समय फेरियो, पार्टी फेरियो तर दाङको अवस्था किन उस्तै रह्यो?
दाङ क्षेत्र नं. ०३ को आसन्न प्रतिनिधिसभा निर्वाचन केवल उम्मेदवारहरूबीचको प्रतिस्पर्धा मात्र होइन, यो दङ्गाली जनताको चेतना, धैर्य र परिवर्तनको चाहनाको कठोर परीक्षा पनि हो।
दाङ कृषि, उद्योग, पर्यटन, स्वास्थ्य, शिक्षा र यातायातलगायत हरेक पक्षबाट अपार सम्भावना बोकेको जिल्ला हो। तर यति ठूलो सम्भावना हुँदाहुँदै पनि दाङ आजसम्म सुशासन र समग्र विकासको दृष्टिले अपेक्षित गन्तव्यमा पुग्न सकेको छैन।
यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुबेदी उम्मेदवार हुनुहुन्छ। उल्लेखनीय कुरा के छ भने, उहाँ अघिल्लो निर्वाचनमा पनि यही पार्टीबाट उम्मेदवार बन्नु भएको थियो र करिब १५ हजारभन्दा बढी मत प्राप्त गर्दै तेस्रो स्थानमा रहनुभएको थियो। सीमित संगठन र नयाँ राजनीतिक धारका बाबजुद प्राप्त त्यो मत परिणाम दाङ–०३ मा वैकल्पिक राजनीतिको बलियो आधार रहेको संकेत थियो।
उहाँका प्रतिस्पर्धीहरूमा नेपाली कांग्रेसका दीपक गिरी हुनुहुन्छ, जो दुईपटक निर्वाचित भइसक्नुभएको भए पनि जनअपेक्षाअनुसार ठोस उपलब्धि दिन नसकेको आरोप व्यापक छ। एमालेबाट उम्मेदवार घनश्याम पाण्डे हुनुहुन्छ छ। माओवादी केन्द्रबाट धनबहादुर मस्की उम्मेदवार हुनुहुन्छ, जो अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट प्रदेशसभामा विजयी हुनुभएको थियो।
दङ्गाली जनताले हरेक निर्वाचनमा आशा राख्दै मत परिवर्तन गर्दै आएका छन्,
वि.सं. २०६४ मा माओवादीलाई,
२०६९ मा कांग्रेसलाई,
२०७४ मा एमालेलाई।
तर पार्टी फेरिए, सरकार फेरिए, दाङको अवस्था भने फेरिन सकेन। समयको स्वाभाविक प्रवाहले ल्याएको विकासबाहेक जनजीवनमा प्रत्यक्ष असर पार्ने दीर्घकालीन र परिणाममुखी विकास कार्यहरू प्रायः असफल नै देखिए।
आज दाङ भ्रष्टाचार, आपराधिक गतिविधि र कुशासनका कारण बारम्बार नकारात्मक सूचीकृत हुने जिल्लामध्ये पर्छ। स्वास्थ्य, शिक्षा र यातायातजस्ता आधारभूत क्षेत्रहरू अझै पनि नाजुक अवस्थामा छन्।
अब प्रश्न उठ्छ, दङ्गाली जनता कहिलेसम्म यही अवस्था सहेर बस्ने?
कहिलेसम्म उही अनुहार, उही पार्टी र उही असफल नेतृत्वलाई विश्वास गर्दै जाने?
हालै देखिएको युवाको चेतनात्मक आन्दोलन, जेन–जी पुस्ताको असन्तोष र त्यसपछि राज्यबाट देखिएको दमन, यी सबै घटनाले देश परिवर्तनको निर्णायक मोडमा पुगेको स्पष्ट संकेत गरेका छन्। यति धेरै युवाशक्ति गुमाइसकेपछि पनि के दङ्गाली जनता सबै कुरा बिर्सेर फेरि उही पुराना शक्तिलाई नै मतदान गर्नेछन्?
यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया होइन, यो दाङको भविष्य कुन दिशातिर जाने भन्ने ऐतिहासिक निर्णयको घडी हो।
अब प्रश्न उम्मेदवारको मात्र होइन, दङ्गाली जनताको विवेक र साहसको हो।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?






















प्रतिक्रिया