लोड हुँदै...मौसम लोड हुँदै
Aago Sanchar Logo
Seven Tech Solutions Services
राजनीति१७ पौष, २०८२

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन आह्वान गर्ने

By आगो संवाददाता

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन आह्वान गर्ने

१७ पुस, काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन आह्वान गर्ने निष्कर्षमा पुगेका छन्। नियमित कार्यतालिका अनुसार पुस २६ देखि २८ गतेसम्म तोकिएको १५औँ महाधिवेशन सम्भव नदेखिएपछि उनीहरू विशेष महाधिवेशनतर्फ अघि बढेका हुन्।
बिहीबार जारी संयुक्त वक्तव्यमा दुई महामन्त्रीले विशेष महाधिवेशन बोलाउनुपर्ने कारण स्पष्ट गरेका छन्। पुस २६ गतेसम्म नियमित महाधिवेशनको कार्यतालिका परिमार्जन गरी प्रक्रिया अघि बढाउन नसकिँदा सम्पूर्ण कार्यतालिका प्रभावित भई निष्प्रभावी बनेको उल्लेख गरिएको छ। पार्टीभित्र बढ्दो अन्योल र अनिश्चितता अन्त्य गर्न वक्तव्य जारी गर्नुपरेको उनीहरूको भनाइ छ।
विशेष महाधिवेशनका मागकर्ताहरूले पुस २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने तयारी तीव्र बनाएका छन्। महाधिवेशन स्थलका रूपमा भृकुटीमण्डप तय गरिएको छ। विशेष महाधिवेशनको अगुवाइ गरिरहेका केन्द्रीय सदस्य मधु आचार्यका अनुसार महाधिवेशन सम्पन्न गर्न विभिन्न तयारी समितिहरू गठन गर्ने तयारी भइरहेको छ। यसैबीच, महामन्त्री थापाले महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको लेखन कार्यसमेत सुरु गरिसकेको विशेष महाधिवेशन पक्षधर नेताहरूले बताएका छन्। शुक्रबार पत्रकार सम्मेलन गरी विशेष महाधिवेशनबारे औपचारिक जानकारी गराइने जनाइएको छ।
कांग्रेसको विधान अनुसार केन्द्रीय समितिले आवश्यकता ठानेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेमा विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। लिखित प्रस्तावका आधारमा केन्द्रीय समितिलाई आह्वानका लागि आग्रह गरिँदै आए पनि समिति स्वयंले पहल नगरेपछि महामन्त्रीहरूले अघि बढ्ने निर्णय गरेका हुन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार सभापति शेरबहादुर देउवालाई पत्र लेखी विशेष महाधिवेशन आह्वान तथा अध्यक्षता गर्न अनुरोध गर्ने तयारी गरेका छन्। मागकर्ता समूहका एक नेताका अनुसार, सभापतिले आह्वान नगरेको खण्डमा महामन्त्रीहरूले नै विशेष महाधिवेशन बोलाउनेछन्।
विधानअनुसार सभापतिले आह्वान नगरेमा महामन्त्रीलाई विशेष महाधिवेशन बोलाउने अधिकार रहेको कानुनविद्हरूले यसअघि नै स्पष्ट गरिसकेका छन्। केन्द्रीय कार्यालय महामन्त्री मातहत रहने व्यवस्था भएकाले विशेष महाधिवेशन आह्वान गर्ने अधिकार पनि महामन्त्रीमै निहित हुने कानुनी परामर्श दिइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

Seven Tech Solutions Services

प्रतिक्रिया

सम्बन्धित खबर