तिमी ठेला ब्यपारी
By आगो संवाददाता

तिमी ठेला ब्यपारी
विशाल गुप्ता
केही सपना त यस्तै हुन्छन्—
पूरा हुँदा पनि भित्र कतै चिरा पार्ने,
अधूरा हुँदा बाटो फेराउन सिकाउने।
जीवन, मानौँ, निसासिएकै लयमा फुसफुसाउँछ—
कुरा पूरा भए चुप लाग्ने,
अधूरा भए मनमै गुञ्जिरहने।
तुल्सिपुरको केन्द्र,
T-आकारको उही सडक,
भीडले बोकिरहेको चाडपर्वको उज्यालो—
मानौँ तिहारले आफ्नो घाम
शहरमा टाँसेर गएको हो।
जोड़ीहरू हातमा हात बाँधेर,
गुनासाहरू पगालेर,
उज्यालोतिर हिँडिरहेका—
जीवनको विशाल रंगमञ्चमा
स्वतन्त्र नाटक खेल्दै।
त्यही भीडबीच
तिमी—सादा तर अडिग
एक बदम–व्यापारी।
ठेलामा उम्रिएको ती सपना
धुलो, धूप र पसिनासँगै
परिपक्व हुँदै गएका।
११–१२ को उमेरमै
ठेलाले नै तिमीलाई वर्णमाला सिकायो—
रोटी, जिम्मेवारी र बाँच्ने कला।
१९–२० भएसम्म
व्यापार पनि जवान भयो,
तिम्रो मन पनि।
धूप कठोर भए पनि
तिमी उस्तै दृढ—
नुन, चुन, पान र बदामसँगै
आफ्नो भविष्य भुटिरहने।
“लानुस न… चाखेर हेर्नुस।”
ओठको त्यो कोमल मुस्कान
तिम्रो पूँजी हो,
त्यसमा मिसिएको
साना आशाहरूको धड्कन।
पानको मिठास, चुनको तिखोपन,
नुनमा डुबेको बदम—
यी सबभन्दा बलियो
तिम्रो संघर्षको सुगन्ध हो।
जीवन पनि त्यसकै जस्तै—
कहिले तातो, कहिले नुनिलो,
कहिले मिठो,
तर हरेक पलमा
आफ्नै ताल, आफ्नो नृत्य।
सपना पनि
ग्राहकझैँ मैलो हावा चिर्दै
एक–एक गर्दै आउँछन्,
र तिम्रो आँटसँगै
अलिक–अलिक ठूलो बन्दै जान्छन्।
तर मनको एक कुनामा
सधैँ झुनझुन छुट्टिएर बस्ने डर—
कहिँ नगरप्रहरीले
ठेला उठाइस्लान कि?
बाहिर उनीहरू
कर्तव्यको पोशाकमा उभिन्छन्,
तर प्रशासनका ढोकाहरू
कति पटक साना व्यापारीका आवाज
बन्द झ्यालपछाडि थुन्छन्।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?


























प्रतिक्रिया